युएइबाट दशैँमा घर आउने बाचा गरेमा एक नेपालीको निधन

पर्वत, २८ असोज । रोजगारीका लागि युएई रहेका एक नेपालीको सुतिरहेको अवस्थामा ज्यान गएको छ। पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ गोदामका २९ वर्षीय प्रेमबहादुर बस्यालको सुतिरहको अवस्थामा मृत्यु भएको हो।

तीजको दिन घरमा टेलिफोन गरेर आमाबाबुसँग दुःख सुख साटासाट गरेका थिए। दशैँ मनाउन घर आउने योजनामा रहेका बस्यालको निधन भएसँगै घर परिवारसहित सिँगो गाउँ नै शोकमा डुबेको छ। पैसा कमाएर घर फर्किन्छु भनेको छोराको एक्कासी मृत्युको खबर आएपछि आमाबाबु अचेत बनेका छन्।

चौध महिना अघि युएई पुगेका बस्यालको शव सोमवार नेपाल आईपुगेको छ। मृतक बस्यालका तीन वर्षीय एक छोरा, श्रीमती र बृद्ध आमाबाबु मात्रै रहेका छन्। १४ महिना अगाडि धन कमाउन युएई गएका एकमात्रै छोराको निधन भएसँगै उनका बुढा बाबुआमा र श्रीमती अझै अचेत रहेको स्थानीयले बताएका छन्।

गत भदौ २८ गते तीजाको दिन राती खाना खाएर सुतेका बस्यालको सुतेकै ठाउँमा मृत्यु भएको हो। युएईको एक अस्पतालमा सहयोगीको रुपमा कार्यरत बस्यालको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ। मृत्यु भएको १८ दिनपछि शव गत सोमबार नेपाल आईपुगेको छ।

Similiar Post