कूटनीतिक टकराव

 

जेष्ठ २७, २०७४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन साताअघि साउदी अरब भ्रमण गरेर फर्के । लगत्तै एउटा खबर विश्वब्यापी बन्यो, ‘खाडी मुलुकहरूलाई इरानविरुद्ध एकजुट हुन ट्रम्पले आग्रह गरेका छन् ।’ सुन्नी बाहुल्य मुलुकहरूलाई सिया बाहुल्य क्षेत्रका निम्ति उनले एकजुट गराउन खोजेको खबर थियो त्यो । यसप्रति कतारले कडा आपत्ति जनायो । कतारी अमिर शेख तामिम बिन हमाद अलथानीले वक्तव्य नै दिए, जसलाई न अमेरिकाले मन परायो, न साउदी अरबले नै । उसै पनि साउदी–कतार सम्बन्ध इरान, इजिप्टका कारण पछिल्लो समय बिग्रिँदै गएको थियो ।

भलै, साउदीसँगै रहेर कतार यमनमा लडिरहेको छ ।
विश्वमा आतंकवादको प्रभावबाट टाढा रहेका मुलुक विरलै छन् । खाडी मुलुक त झन् यसबाट अछुतो छैनन् । आतंकवादीलाई संरक्षण गरेको आरोप केही खाडी मुलुकलाई पहिलेदेखि नै लाग्दै आएको छ । यही कारण नै खाडीको वर्तमान हैसियत र स्थिरता सधैं कायम रहन्छ/रहँदैन सन्देह छ । यही आरोप अहिले विश्वकै धनी मुलुक कतारलाई लागेको छ । अचम्म यो छ कि, खाडी सहकार्य परिषद् (जीसीसी) सम्बद्ध तीन मुलुकले नै कतारलाई यो आरोप लगाएका हुन् । आतंककारीसँग साँठगाँठ रहेको र इरानसँग निकट भएको भन्दै छिमेकी मुलुकहरूले उसलाई एक्लाएका हुन् । साउदीको पछि लागेर यूएई, बहराइन, इजिप्ट र यमनले कतारसँग एक साथ कूटनीतिक सम्बन्ध तोडेका छन् गत सोमबारदेखि । ६ मुलुकले कतारलाई अलकायदा, इस्लामिक राज्य र इरानको समर्थन गर्ने आतंकवादी समूहलाई सहयोग गरेको संगीन आरोप लगाएका छन् । कतारसँगको सबै पारवहन र सञ्चार सम्बन्ध टुटाइदिएका छन् । आफ्नो मुलुकमा भएका कतारी नागरिकलाई दुई साताभित्र मुलुक फिर्ने समय सीमा दिएका छन् । कतारले भने यो आरोप स्विकारेको छैन ।
वैदेशिक रोजागारीमा जाने नेपालीका लागि एउटा प्रमुख गन्तव्य मुलुक कतार त्यस्तो देश हो ‘जसको शब्दकोशमा गरिबी भन्ने शब्द नै छैन’ । त्यहाँका नागरिकले राज्यलाई करसमेत बुझाउन पर्दैन । तर अबको उसको यात्रा कस्तो होला ? छिमेकीहरूको यो कदमले उसले कस्तो कठिनाइ भोग्नुपर्ला ? अहिले यस सवाललाई विश्वभर चासोका साथ हेरिएको छ ।
सन् १९९५ मा विश्वकै सबैभन्दा बढी इन्धन उत्पादन र निर्यात गर्न थालेपछि कतारले पछाडि फर्किनुपरेको छैन । उक्त इन्धन उत्पादनमा कतारले इरानसँग सहकार्य गरेको छ । इन्धन रिजर्भको केही भाग इरानतर्फ पर्छ । त्यसैले उसले इरानको साथ लिएको हो । कतारलाई अहिले यही साथ भारी परेको छ ।
‘गल्फ किङ’ मानिने साउदी उक्त क्षेत्रमा आफूअनुकूल शासन लाद्न चाहन्छ । पहिलेदेखि नै साउदी–इरान सम्बन्ध राम्रो छैन । अमेरिकी पेनिट्रेसन रहेको कतार इरानको साथ छोड्दैन । अमेरिका इरानलाई रुचाउँदैन । र, इरान रूसको साथ लिएर अघि बढ्छ, यही माखेसाङ्लोमा अहिलेको कूटनीति जकडिएको धेरैको बुझाइ छ ।
सन् १९५१ मा बेलायतबाट स्वतन्त्र भएको कतार साउदीको ‘पिछलग्गु’ मुलुकको रूपमा चिनिन्थ्यो । अहिले बहराइन, ओमान, युनाइटेड अरब इमिरेट्स (यूएई) र कुबेतलाई त्यो रूपमा बुझिन्छ । आफूलाई टेर्न छोडेर परराष्ट्र नीति अख्तियार गरेकोमा साउदी लामो समयदेखि कतारसँग असन्तुष्ट छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पश्चिम एसियाको यो क्षेत्रमा संघर्ष उल्झाउने काम गरेको साउदी अरबका लागि भारतीय राजदूत रहिसकेका तलमिज अहमदको बुझाइ छ । ‘राष्ट्रपति ट्रम्प जब साउदी आएर सुन्नी अरबको गठन गर्दै इरानको विरुद्ध एक बनाए जुन त्यस क्षेत्रका लागि निकै महँगो क्षेत्रीय विचलनको रूपमा रहने निश्चितप्राय: छ,’ उनले भारतीय पत्रिमा ‘इन्डियन एक्सप्रेस’ मा लेखेका छन्, ‘यो प्रयासलाई केही हदसम्म बाराक ओबामाले सन्तुलन गरेका थिए । अब यो क्षेत्र पनि त्रिपक्षीय शक्ति असन्तुलनको चपेटामा पर्नेछ ।’
गल्फ पर्सियनको माथि इरान र तल कतार छ । सिया बाहुल्य इरान लामो समयदेखि अशान्त छ । बुधबार इरानको संसद्मै आक्रमण भएको छ । इरान र साउदीको सम्बन्ध कहिल्यै सुमधुर छैन । इरानमा पश्चिमा शक्तिको दबदबा पनि उत्तिकै छ । तर, यी शक्तिहरूले इरानलाई आफ्नो पक्षमा पार्न सकेका छैनन् । इरानले पनि पश्चिमा चासोलाई बेवास्ता गर्ने गरेको छ । उसको पछाडि रुस मात्र छैन, चीनले पनि त्यहाँ आफ्नो प्रभाव बढाउँदै गएको छ । चीन नयाँ शैलीमा खाडीमा प्रवेश गरिरहेको छ ।
साउदीपछि इजरायल हुँदै अमेरिका फर्केका ट्रम्प र अमेरिकी स्वार्थ यहाँ जोडिएको छ । साउदी इरानसँगको सम्बन्धलाई जीसीसीको नीतिमा राखेर हेर्न चाहन्छ । तर कतारले यसलाई आफ्नो छुट्टै नीतिबाट हेर्दै आएको छ । सिया बाहुल्य खाडी द्वन्द्वमा फसिसकेको भए पनि सुन्नी बाहुल्य क्षेत्र (जीसीसी) केही शान्त छ । नयाँ परिस्थितिले जन्माएको प्रश्न हो, यो शान्ति कायम रहला त ?
सुन्नी बाहुल्य पनि द्वन्द्वमा फसेको खण्डमा यसको असर दक्षिण एसियामा पनि प्रवेश पर्ने जानकारहरूको धारणा छ । द्वन्द्वपछि अमेरिका र युरोप मात्र शान्ति भएको छ । अन्य विश्व सधैं अस्थिर बन्न पुगेको छ । यो इतिहासप्रति गम्भीर भएर कुवेतले अहिले साउदी अरबसँग छलफल अघि बढाएको छ ।
सतहमा धेरै कारण लामो समयदेखि रहेकाले यस क्षेत्रमा ‘नयाँ कूटनीतिक टकराव’ आरम्भ भएको विश्लेषण बीबीसी अरेबिकका आमिर रवासको छ । उनले लेखेका छन्, ‘खाडीको यो क्षेत्रमा उत्पन्न समस्यालाई ‘नयाँ कूटनीतिक मोड’ भन्दा उपयुक्त हुन्छ । जीसीसी मुलुकहरूको स्वर बाझिनु नै पनि एक दु:खद घटना हो ।’

संभार;-ekantipur

Similiar Post